कैलाली, असोज ३० —सृजनशील युवा क्लबको आयोजनामा घोडाघोडी नगरपालिका–८ मा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

बालज्योति आधारभूत विद्यालयको प्राङ्गणमा भएको उद्घाटन कार्यक्रमले स्थानीय तहमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका सभाध्यक्ष जिवन विक रहनु भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावतले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। वडा नम्बर ८ का वडाध्यक्ष वीरबहादुर साउद र नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष कर्ण बहादुर बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।कार्यक्रमको सञ्चालन धनबहादुर कठायत ‘रोदन’ ले गर्नुभएको थियो।


खेलले नगरको गौरव बढाउँछ —
उद्घघाटन समारोहमा बोल्दै मेयर खडक बहादुर रावतले खेलकुदले युवालाई अनुशासित बनाउने मात्र नभई सामाजिक परिवर्तनमा समेत भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “भलिबलजस्ता खेलकुद गतिविधिले वडा मात्रै होइन, सम्पूर्ण नगरपालिकाको छवि उजागर गर्छ।”वडा अध्यक्ष साउदले वडा कार्यालय सधैं यस्ता कार्यक्रमको समर्थनमा रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले खेलकुदलाई प्राथमिकता दिँदै युवालाई कुलत र विकृति–विसंगतिबाट जोगाउन सकिने उल्लेख गर्नुभयो।

जनहित खबर टेलिभिजनका सञ्चालक रोशन रसाइलीले यस्ता कार्यक्रमहरूले युवाहरूलाई खेलकुद मार्फत राष्ट्र चिनाउने अवसर दिने धारणा राख्नुभयो। “खेलकुद नगरको मात्र होइन, देशको पनि पहिचान हो। खेलाडीहरूलाई सम्मान र अवसर दिनुपर्छ,” उहाँले भन्नुभयो।
त्यस्तै, समाजसेवी तथा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष कर्ण बहादुर बोहराले खेलकुद मानसिक र शारीरिक विकासको माध्यम भएको उल्लेख गर्नुभयो।

८ टोलीको सहभागिता, दीपावली अवसरमा आयोजना
दीपावलीको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा आठवटा टिम सहभागी भएका छन्। आयोजक सृजनशील युवा क्लबका अनुसार प्रतियोगिता स्वास्थ्य, मित्रता र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। स्थानीयस्तरमा यस्ता प्रतियोगिताले खेलप्रेमी युवामा सकारात्मक ऊर्जा भर्ने र भविष्यमा वडा तथा नगरलाई खेलकुद क्षेत्रमा अगाडि बढाउने विश्वास आयोजकको रहेको छ।-
