लागू पदार्थ होइन, क्रिकेट रोजौँ भन्ने नारासहित ‘प्रथम क्रिकेट प्रतियोगिता कप २०८२’ आयोजना हुँदै
घोडाघोडी २१ पुष (कैलाली) — घोडाघोडी नगरपालिकामा क्रिकेट खेल क्षेत्रको विकास गर्ने उद्देश्यका साथ बडीमालिका युथ क्लब ले “लागू पदार्थ होइन, क्रिकेट रोजौँ– प्रतिभा फुलाऔँ, भविष्य सजाऔँ” भन्ने मूल नारासहित प्रथम बडीमालिका कप २०८२ नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्लबले जारी गरेको सूचनाअनुसार प्रतियोगिता २०८२ साल पौष ३० गतेदेखि घोडाघोडी नगरपालिका वडा नं. ०१ स्थित ज्वालानगर खेलमैदान मा सञ्चालन हुनेछ। प्रतियोगिता नगरभित्रका टिमहरूबीच टेनिस बल प्रयोग गरी नकआउट प्रणाली मा खेलाइनेछ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रत्येक टिममा १४ जना खेलाडी र १ जना व्यवस्थापक अनिवार्य रूपमा रहनुपर्नेछ भने सम्पूर्ण सदस्यहरू घोडाघोडी नगरपालिकाका स्थायी बासिन्दा हुनुपर्ने व्यवस्था गरिएको छ।
टिम दर्ता शुल्क रु. ३,००० तोकिएको छ।खेलका क्रममा LBW बाहेक ICC का सम्पूर्ण नियमहरू लागू हुने आयोजकले जनाएको छ। खेलाडीले आवश्यक खेल सामग्री आफैं व्यवस्था गर्नुपर्नेछ भने खेलका क्रममा लाग्ने कुनै पनि चोटपटकको जिम्मेवारी स्वयं खेलाडी वा टिमको हुने जनाइएको छ।
साथै प्रतियोगितामा जर्सी अनिवार्य गरिएको छ।अनफिल्ड अम्पायरको निर्णय अन्तिम हुने र निर्णय अस्वीकार गरी खेललाई विवादित बनाउने टिमलाई प्रतियोगिताबाट बाहिरिने (नकआउट) गरिने नियम राखिएको छ। खेलाडीहरूले सभ्य र अनुशासित रूपमा खेल प्रदर्शन गर्नुपर्ने आयोजकको आग्रह छ।
प्रतियोगिताका विजेताले नगद रु. २५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै Man of the Match, Best Batsman र Best Bowler लाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

टिम दर्ता गर्न चाहनेले घोडाघोडी नगरपालिका–०१ स्थित श्री घोडाघोडी सुनचाँदी पसल मा सम्पर्क गर्न सक्नेछन्। प्रतियोगिता संयोजक राजन मल्ल, क्लब अध्यक्ष नरेश शाही, कोषाध्यक्ष विकास सुनार तथा सचिव सागर भण्डारी ले नगरवासी टिमहरूलाई समयमै दर्ता गराउन अनुरोध गरेका छन्।
प्रतियोगिताको आयोजना बडीमालिका युथ क्लब, घोडाघोडी–०१ सुखड, कैलाली ले गरेको हो।।

