कैलाली,२०८२ कात्तिक १४ गते घोडाघोडी नगरपालिका–१ ज्वालानगरमा बडिमालिका युथ क्लबको औपचारिक स्थापना गरिएको छ। क्लबका संयोजक नरेश जंग शाहीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विधान मस्यौदाकार संयोजक भजन

बहादुर शाही, अतिथि ज्वालानगर सामुदायिक वनका अध्यक्ष दिलिप सिंह भाट, स्थानीय बुद्धिजीवी, शिक्षक, खेलप्रेमी र अभिभावकहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबको विधान मस्यौदा अनुमोदन गर्दै तदर्थ सञ्चालक समिति गठन गरिएको हो।

ज्वालानगर र सितानगरको सीमामा रहेको ज्वाला सामुदायिक वन भित्रको प्राचीन खेलमैदान अहिले जिर्ण अवस्थामा पुगेको र त्यसको संरक्षण तथा प्रवर्द्धनको आवश्यकता रहेको भन्दै बडिमालिका युथ क्लब स्थापना गरिएको हो। उक्त मैदान विगतदेखि नै विभिन्न खेलकुद गतिविधिका लागि प्रयोग हुँदै आएको भए पनि पछिल्ला वर्षहरूमा यसको संरक्षणमा कमी देखिएको कारण यसलाई पुनर्जीवन दिन स्थानीय युवाहरूले पहल गरेका हुन्।

कार्यक्रममा नव नियुक्त युथ क्लबका अध्यक्ष नरेश जंग शाहीले भने,
“बडिमालिका युथ क्लबको प्रमुख उद्देश्य युवाहरूलाई खेलकुदमा प्रेरित गर्दै कुलत, कुसंस्कार र अपराधजन्य क्रियाकलापहरूबाट टाढा राखी शारीरिक, मानसिक र सामाजिक रूपमा सबल र सभ्य समाज निर्माण गर्नु हो।”

साथै खेलमैदानकाे रूपमा प्रयाेग गर्न अनुमतीकाे लागी अनुराेध ग्यापन पत्र समेत ज्वालानगर सामुदायीक बन उपभक्ता समितीका अध्यक्ष दिलिपशिँह भाटलाइ हस्तान्तरण गरेका थिए ।
त्यसैगरी अतिथि दिलिप सिंह भाटले सामुदायिक वनको तर्फबाट क्लबलाई खेलमैदानको संरक्षण र प्रवर्द्धनको जिम्मेवारी प्रदान गरिएको जानकारी दिँदै भने,
“युवा क्लबले यहाँका युवालाई समाज निर्माणमा सक्रिय भूमिका खेल्नेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु।”

कार्यक्रममा सहभागी एक वृद्ध महिलाले खेलमैदानको पुनर्जीवनका प्रयासप्रति खुसी व्यक्त गर्दै भनिन्,
“म वृद्ध भएपनि खेलमैदान बन्ने कुरा सुन्दा धेरै खुसी छु।”
भेलाले नौ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरेको छ, जसको विवरण यसप्रकार छः

तदर्थ सञ्चालक समिति:
- अध्यक्ष: नरेश जंग शाही
- उपाध्यक्ष: भजन बहादुर शाही
- सचिव: सागर भण्डारी
- कोषाध्यक्ष: विकास गौतम
- सदस्यहरू: सुशीला बोगटी, अमर चौधरी (सामुदायिक वन प्रतिनिधि), दिपेन्द्र नाथ, बिनाकुमारी शाही
उक्त समितिले खेलमैदानको संरक्षण, खेलकुद प्रवर्द्धन र युवा सशक्तीकरणका लागि दीर्घकालीन योजना बनाउने प्रतिबद्धता जनाएको छ।


