-नेपाल लगातार दोस्रोपटक टी–२० विश्वकपमा! राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक सफलताका लागि बधाई
काठमाडौं, असोज ३० – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ।

यो जितसँगै नेपालले लगातार दोस्रो पटक टी–२० विश्वकपका लागि छनोट हुन सफल भएको छ। राजनीतिक जटिलता र असहज वातावरणबीच देखाएको धैर्य, संयमता र अनुशासनले नेपाली टोलीको प्रदर्शनलाई अझ विशेष बनाएको छ। राष्ट्रिय टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) र सम्पूर्ण खेल परिवारलाई यस अभूतपूर्व सफलताप्रति हार्दिक बधाई व्यक्त गरिएको छ।

यस सन्दर्भमा एक वक्तव्य जारी गर्दै भनिएको छ, “देशमा राजनीतिक अस्थिरता हुँदाहुँदै पनि नेपाली टोलीले जुन किसिमको समर्पण र लचकता देखाएको छ, त्यो साँच्चिकै प्रशंसनीय छ।” साथै, नेपालमा क्रिकेटको समग्र विकास, स्टेडियम निर्माण, खेलाडीहरूलाई प्रोत्साहन र भौतिक पूर्वाधार सुदृढीकरणका लागि पूर्वसरकारद्वारा शुरू गरिएका पहलहरूलाई थप सशक्त र सघन रूपमा अघि बढाउनसमेत आग्रह गरिएको छ।
वक्तव्यको अन्त्यमा भनिएको छ, “फेरि एकपटक सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई ज्ञापन गर्दछौं र आगामी विश्वकप प्रतियोगितामा समेत सफलताको शुभकामना व्यक्त गर्दछौं।
