दलित समुदायबाट पहिलो एआईजी: डम्बर विकको जीवन सङ्घर्ष र सफलताका|
असोज २८, २०८२ नेपाल प्रहरीको इतिहासमा नयाँ अध्याय कोर्दै डम्बर विकले दलित समुदायबाट पहिलो प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने अवसर पाएका छन्।

मन्त्रिपरिषद्को निर्णय अनुसार विक हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन्। उनको यो उपलब्धि न केवल प्रहरी संगठनका लागि, तर समग्र नेपाली समाजमा समानता र समावेशीताको दिशामा एक महत्वपूर्ण पाइलाको रूपमा हेरिएको छ।बाल्यकालमै सुरु भयो जीवनसँगको सङ्घर्षदाङका डम्बर विकको जीवन सरल थिएन।

उनी सानै उमेरमा आमा–बुवाको माया गुमाएर टुहुरो बने। ६ कक्षा पढ्दै गर्दा टुहुरो बनेका विकलाई उनका दाजु खड्गबहादुर सुनारले हुर्काए। गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा उनी घोराही झरेर डेरा गरेर पढ्न थाले।तर जातीय पहिचानका कारण उनले डेराबाट निकालिने पीडा भोग्नुपर्यो। “दलित” भनेर घरबेटीले डेराबाट निकालिदिए। त्यसपछि उनी घोराहीकै एक थारु जिम्दारकोमा शरण लिए, जहाँ उनले जिम्दारका छोरालाई ट्युसन पढाउने शर्तमा बस्न पाएका थिए।विद्यालयमै विभेदउनको बाल्यकालमै विभेदको सामना विद्यालयदेखि सुरु भएको थियो।

सरस्वती पूजा जस्तो धार्मिक कार्यक्रममा पनि उनलाई अन्त्यमा मात्र पूजा गर्न दिने गरिन्थ्यो। “पूजा गर्दा मनमनै भन्थेँ, सरस्वतिले मलाई विभेद नगरुन्, अरूले गरे पनि फरक पर्दैन,” विक सम्झिन्छन्।शिक्षाको यात्रादेखि प्रहरी सेवासम्मएसएलसी पछि विक काठमाडौँ आए। शंकरदेव क्याम्पसबाट आईकम, मीनभवनबाट बीकम र पछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे। पढाइको सम्पूर्ण खर्च दाजुले गाउँबाट पठाइदिने गर्थे।

विदेश जानु सट्टा दाजुको सल्लाहअनुसार विकले २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (रास्वा) को निरीक्षक पदमा आवेदन दिए र छनोट भए। तर २०५८ सालमा माओवादी आक्रमणपछि उनलाई प्रहरीमा स्थानान्तरण गरियो। सुरुमा हतियार नचाल्ने जागिर लिएका विक देविराम शर्माको सुझावमा “अब गर्ने कि मर्ने” भन्ने चेतावनीसहित प्रहरी सेवामा गएका थिए।विभेदका अनुभव र आत्मसंघर्षफौजमा खुला रुपमा विभेद नदेखिए पनि अप्रत्यक्ष व्यवहारले विकलाई पीडा दिँदै आएको थियो।

कतिपय जिल्ला भ्रमणमा मानिसहरू “दलित डीएसपी पो आएछ” भन्दै टीकाटिप्पणी गर्थे। बढुवा हुँदा दलितको हातबाट फुली लगाउन हिच्किचाउने घटनाहरू उनले प्रत्यक्ष अनुभव गरे।कहिले काहीँ उनले थर नै परिवर्तन गर्ने सोच समेत गरे। “थर विक नराखेर शाह वा अरू केही लेखेर जाने सोच मनमा आएको थियो,” उनी भन्छन्।

तर, उनले आफ्नो पहिचानबाट पछि हटेनन्। विभेदको गहिराइ उनले अनुभूति गरे, तर त्यसलाई आत्मबलमा बदल्दै अघि बढे।सपनाको सफलताको क्षणअसोज २४ गते, एआईजीको फुली लगाउने कार्यक्रममा उनका दाजु सहभागी थिए।

फुली लगाइसकेपछि दाजुले भने, “भाइ, मेरो इच्छा पूरा गरिस्।” त्यही दिन डम्बर विकको जीवनको संघर्ष सफलताको शिखरमा पुगेको थियो।निष्कर्षडम्बर विकको जीवन कथा केवल एक व्यक्तिको संघर्ष मात्र होइन, यो दलित समुदाय, गरिबी, विभेद, र संघर्षका विरुद्ध उठेको आवाज हो।
आज उनी प्रहरी संगठनका उच्च तहमा पुगेर समानताको सन्देश फैलाइरहेका छन्। हामी सम्पूर्ण नेपाली जनताको तर्फबाट डम्बर विकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
