Oplus_131072
काठमाडौं -१० असोज २०८२
गृहमन्त्री ओम प्रकाश अर्यालले देशमा फैलिँदै गएको भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन। नयाँ मात्र होइन, विगतका सबै भ्रष्टाचार सम्बन्धी फाइलहरू पनि पुनः खोली अनुसन्धान अघि बढाइने स्पष्ट सन्देश दिएका छन्।


गृहमन्त्री अर्यालका अनुसार, सरकारी निकायहरूमा लापरवाही, घुसखोरी र पदको दुरुपयोगमा संलग्न जो कोही भए पनि जोगिन पाउने छैनन्। उनले भने, “अब कोही पनि कानूनभन्दा माथि रहने छैन। नयाँ–पुराना सबै फाइल खोलिन्छन्, कसैलाई पनि छोडिँदैन।”

उनका अनुसार मन्त्रालयले उच्चस्तरीय अनुसन्धान टोली गठन गर्ने तयारी गरिरहेको छ, जसले अतीतका विवादित ठेक्का प्रक्रिया, बजेट दुरुपयोग, सरकारी सम्पत्तिको हिनामिना लगायतका मुद्दाहरूमा अनुसन्धान अघि बढाउनेछ।
राजनीतिक दबाब र प्रभावका कारण वर्षौंदेखि थन्काइएका धेरै मुद्दाहरू पुनः खोतलिने सम्भावना छ। नागरिक समाज र सरोकारवालाले गृहमन्त्रीको यो कदमलाई सकारात्मक भन्दै स्वागत गरेका छन्।

उनीहरूका अनुसार, यदि सरकारले प्रतिवद्धताका साथ काम गर्यो भने मुलुकमा सुशासन र पारदर्शिताको नयाँ अध्याय सुरु हुनेछ।गृहमन्त्री अर्यालले अन्त्यमा चेतावनी दिँदै भने, “भ्रष्टाचारलाई समाप्त नगरेसम्म देशको विकास सम्भव छैन। अब कोही पनि पद वा शक्ति प्रयोग गरेर अपराध लुकाउन सक्दैन।”
