काठमाडौं -असोज ५ गते २०८२
चितवन — मुग्लिङ–नारायणघाट सडकखण्डमा खसेको ठूलो पहिरोका कारण दुईतर्फी सवारी सञ्चालन अवरुद्ध बनेको छ। लगातारको वर्षाका कारण पहिरो पन्छाउने काम सुस्त भएकोले आज (शनिबार) पनि सडक पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक अवरुद्ध भएपछि मुग्लिङ हुँदै नारायणघाट–पोखरा–काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई ठूलो सास्ती भएको छ। सयौं मालबाहक र यात्रीवाहक सवारी साधन बाटोमै अल्झिएका छन्। केही सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ भने यात्रुहरू पैदलै पहिरो पार गरेर अर्को सवारी चढ्न बाध्य भएका छन्।
डिभिजन कार्यालयका इन्जिनियरका अनुसार पहिरोको मात्रा धेरै ठूलो भएकाले भारी मेसिन प्रयोग गरेर मात्र पन्छाउन सकिने बताइएको छ। तर, निरन्तर वर्षा हुँदा थप पहिरो खस्ने जोखिमले काम गर्न गाह्रो बनेको छ।
स्थानीय प्रशासनले यात्रुहरूलाई अनावश्यक जोखिम नलिन र सम्भव भएसम्म वैकल्पिक मार्ग रोज्न आग्रह गरेको छ।
