३ भदौं, २०८२ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस एमालेका शीर्ष नेताहरुको बैठक चलिरहेको थियो । सामाजिक सञ्जाल विधेयकबारे संक्षिप्त छलफल भयो ।

.
- प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा सामाजिक सञ्जाल विधेयक र उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रस्तावबारे छलफल भएको स्रोतले बतायो।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मानव तस्करलाई कारबाही गर्नुपर्ने माग पूरा गर्नुपर्ने र उपसभामुख रानालाई पदमुक्त गर्नुपर्ने बताएका छन्।
- कांग्रेसले पनि उपसभामुख रानालाई पदमुक्त गर्ने विषयमा सहमति जनाएपछि दुवै दलले सांसदहरूलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन खबर गरेका छन्।
स्रोतका अनुसार, बैठकमा सामाजिक सञ्जाल विधेयकमाथि छलफल चलेको भनिएपनि मुख्य रुपमा उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने विषयले नै प्राथमिकता पाएको देखिन्थ्यो । दुवै दलका नेता र महान्याधिवक्तालाई समेत राखेर बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ‘रास्वपा सांसदहरूले संसद्मा राखेको माग पूरा गरिदिनुपर्छ’ भन्दै ठट्यौली शैलीमा प्रस्तुत भएका थिए ।
‘उनीहरुले मानव तस्करलाई कारबाही गर भनेर दुई महिनादेखि संसद्मा नाराबाजी गरिरहेका छन्, हामीले पूरा गर्नसक्ने माग सम्बोधन गरिदिनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मानव तस्कर उनीहरुकै पार्टीभित्र छन्, उपसभामुख भएर बसेका छन्, तिनैलाई कारबाही गर भनेको त होला नि । हामीले प्रक्रिया अघि बढाउनुपर्छ ।’
यसरी सुरु भएको कुराकानीमा कांग्रेस पनि तयार भयो । किनकि कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकलाई भिजिट भिसामा संलग्न भएको भन्दै रास्वपाले कारबाही गर्नुपर्ने माग गर्दै आएका थिए ।
जानकारहरुका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली केही महिनादेखि नै उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्न चाहन्थे । तर बारम्बार उनको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत हुन सकेका थिएनन् । र, पछिल्लो समय उनी रानालाई पदमुक्त गर्ने मनस्थितिमा भए पनि केही मौन थिए ।
यसबीचमा रास्वपाका सांसद एवं नेताहरुलाई प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्न आग्रह गरेपनि कुनै वास्ता नगरेकाले जवाफ दिनुपर्छ भन्ने निष्कर्ष निस्किएको उनले बताए ।
ती नेताले भने, ‘सुरुमा कांग्रेस सभापति हतारो नगरौं भन्ने मनस्थितिमा हुनुहुन्थ्यो, अब अति भयो भन्ने भएपछि उहाँ पनि सहमत हुनुभयो ।’
कांग्रेस पनि सहमत भएपछि दुवै दलले राति संसदीय दलका कर्मचारी मार्फत् सांसदहरूलाई मंगलबार संसदीय दलको कार्यालयमा ११ बजे उपस्थित हुन भन्दै खबर गरेका थिए ।
