GenZ 2.0 अभियानद्वारा ‘बन्द उद्योग पुनः सञ्चालन पहल’ कार्यक्रम सम्पन्न

काठमाडौं, कार्तिक ४ — ‘आत्मनिर्भरता, रोजगारी र औद्योगिक पुनर्जागरणको अभियान’ अन्तर्गत GenZ 2.0 (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले आज बसबारीस्थित छाला उद्योग परिसरमा ‘बन्द उद्योग पुनः सञ्चालन पहल’ कार्यक्रम सम्पन्न गरेको छ।


दिउँसो १:३० बजे सुरु भएको कार्यक्रममा विभिन्न पुस्ताका प्रतिनिधिहरू, उद्योगी–व्यवसायी, विद्यार्थी, पत्रकार, नागरिक अभियन्ता तथा औद्योगिक क्षेत्रका विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले “जहाँ लगानी हाम्रै थियो, सञ्चालनको जिम्मा पनि हाम्रै हो” भन्ने साझा घोषणामार्फत देशमै रोजगारी सृजना र औद्योगिक पुनर्जागरणको बाटो खोल्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै अभियानका प्रवक्ता अरविन राईले भने,

“नेपालको माटोमा रोजगारी र सम्भावना दुबै छन्। हाम्रा सीप र लगानी विदेश होइन, आफ्नै मातृभूमिमा प्रयोग गरौं।”
त्यस्तै, सदस्य–सचिव कुन्दन कुशवाले यो अभियानलाई केवल एउटा कार्यक्रम नभई आत्मनिर्भर राष्ट्र निर्माणको क्रान्ति भन्दै नयाँ पुस्ताको अग्रसरता उल्लेख गरे।
“यो अभियान केवल कार्यक्रम होइन — यो देशभक्त आत्मनिर्भरताको क्रान्ति हो, जहाँ नयाँ पुस्ता नेतृत्वमा उभिएको छ।”
कार्यक्रमका संरक्षक तथा परिकल्पनाकार डा. हरि कार्कीले अभियानले समग्र राष्ट्रलाई एउटै राष्ट्रिय भावनामा बाँध्दै नयाँ अध्याय सुरु गरेको बताए।

“GenZ 2.0 ले सबै पुस्तालाई एउटै राष्ट्रिय भावनामा बाँध्दै, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको नयाँ अध्याय सुरु गरेको छ। नेपाल अब आशाको दिशामा अघि बढ्दैछ।”
यसअघि असोज ३१ गते GenZ 2.0 ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “नेपालले तपाईंलाई पर्खिरहेको छ — तपाईंको आवश्यकता छ” भन्ने सन्देशसहित विदेश प्रस्थान गर्न लागेकाहरुलाई प्रतीकात्मक विदाइ गरेको थियो।
सो अवसरमा अभियानले “फर्क र नेपाल बनाऔँ”, “तपाईंको सीप देशकै मेरुदण्ड हो” जस्ता सन्देशमार्फत देशभक्तिपूर्ण भावना उजागर गरेको थियो।

GenZ 2.0 ले विगतमा “नेपाल सबैका लागि सधैं खुला छ” भन्ने सन्देशसहित विदेशी पर्यटक स्वागत, राहत वितरण, तीनकुने चोकलाई “जेन्जी चोक” नामाकरण, राष्ट्रिय भेला, विज्ञहरूसँग अन्तरक्रिया तथा देशभक्त समूहबीच एकता स्थापित गर्ने विभिन्न कार्यक्रमहरू समेत सम्पन्न गरिसकेको छ
