✦ जेन–जि आन्दोलनको माग सम्बोधनको लागि आमरण अनशन सुरु
काठमाडौं,२५ कात्तीक २०८२ ।
जेन–जि आन्दोलनका तर्फबाट सरकारसँगका प्रमुख मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनरत युवाहरूले आमरण अनशन सुरु गरेका छन्।

अनशनकर्ताहरूले २०८२ साल भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा भएका घटनाका जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी सामूहिक हत्याको मुद्दा दर्ता गर्न माग गरेका छन्। उनीहरूले “शान्ति सुरक्षा कायमका लागि बल प्रयोग गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड” विपरित बल प्रयोग गरी युवाहरूको हत्या गराइएको दाबी गरेका छन्।

अनशनकर्ताहरूका अनुसार आन्दोलनका सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्नुपर्छ। साथै, जेन–जि आन्दोलनलाई कु–शासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलनको रूपमा औपचारिक मान्यता दिनुपर्ने माग समेत राखिएको छ।

यसबाहेक, उनीहरूले राजनीतिक र प्रशासनिक पदमा बसेर अकुत सम्पत्ति आर्जन गर्नेहरूलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक सम्पत्ति छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। सो आयोगले अदालतका न्यायाधीशहरूसहित सम्पत्ति छानबिन गरी दोषी ठहरिएका व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।

अनशनकर्ताहरूले चेतावनी दिएका छन्, “हाम्रो माग सम्बोधन नभएसम्म अनशन जारी रहनेछ।”


