धम्कीपछि घरबाट भागेका युवकको शव खोलामा फेला, कुटपिटपछि हत्या भएको परिवारको आरोप
धनगढी, असोज २७
कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित शिविर टोलका ३५ वर्षीय शेरबहादुर चौधरीको शव असोज २४ गते बिहान घर नजिकै रातापानी र गाेदावरी खोलाको दोभानमा फेला परेको छ। मृतकको परिवारले कुटपिटपछि हत्या गरिएको दाबी गरेको छ।


शेरबहादुरलाई असोज २३ गते राति २ बजे छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ विकास मल्लले घरमै आएर ज्यान मार्ने धम्की दिएका थिए। ढोका फुटाउँदै घरमा पसेपछि शेरबहादुर डरले पछाडिको ढोका भएर भागेका थिए। त्यसको भोलिपल्ट उनी खोलामा मृत अवस्थामा फेला परे।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार शव भेटिएको स्थान र घटनाका शंकास्पद पक्षहरूको आधारमा घटनाबारे गम्भीर अनुसन्धान अघि बढाइएको छ। लोकेन्द्र मल्ल र विकास मल्ललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

“बिहेको पार्टी नपाएको रिसमा घटना भएको”
मृतकका परिवारका अनुसार, गत बैशाख १७ गते शेरबहादुरले आफ्ना भाइको विवाह गराएका थिए। सो विवाहमा सहभागी भएका लोकेन्द्र मल्लले ‘पार्टी राम्रो नपाएको’ भन्दै बेलाबेलामा असन्तुष्टि जनाउने गरेका थिए। मृतककी भाइ बुहारी सलिना चौधरीका अनुसार, असोज २३ गते साँझ लक्की मल्ल र विनोद मल्ल घरमा आएर जबर्जस्ती मासु पकाउन लगाएका थिए।

उनका अनुसार, मासु नखाई फर्किएका उनीहरूले केही बेरपछि शेरबहादुरलाई मासु लिएर आउन फोन गरेका थिए। “उनीहरूले खोला किनारमा बसेर मासु र रक्सी खाए। त्यसपछि शेरबहादुरलाई नयाँ लुगा लगाएर अत्तरियातर्फ लगे,” सलिनाले भनिन्।
अत्तरियाको एक डान्स बारमा मल्ल दाजुभाइले मृतकका भाइ रमेश चौधरीमाथि कुटपिट गरेको र त्यही तनावका बीच शेरबहादुरलाई समेत लक्षित गरिएको परिवारको भनाइ छ।

“हत्या गरी खोलामा फालिएको आशंका”
मृतककी आमासहित परिवारका सदस्यहरूले हत्या गरिएको पर्याप्त संकेतहरू देखिएको दाबी गरेका छन्। मृतकका दुबै पाखुरा र खुट्टाको हड्डी भाँचिएको, घाँटी पछाडि धारिलो हतियारले हानिएको जस्तो गहिरो चोट देखिएको, शरीरका विभिन्न भागमा कुटपिटको छाप देखिएको फुपू लक्ष्मीकुमारी डगौराले बताइन्।
मृतकको अन्तिम संस्कार असोज २६ गते गरिएको हो। पोस्टमार्टमपछि असोज २५ गते मात्रै शव परिवारलाई बुझाइएको थियो।
परिवार असुरक्षित महसुसमा, निष्पक्ष अनुसन्धानको माग
मल्ल दाजुभाइविरुद्ध किटानी जाहेरी दिएपछि चौधरी परिवारले थप धम्की पाएको दाबी गरेको छ। “जेलबाट छुटेपछि पनि छोड्दैनौं भन्ने धम्की आइरहेको छ,” एक परिवारजनले भने।

मृतक शेरबहादुर घरको जिम्मेवार सदस्य थिए। खेती किसानी, ट्याक्टर सञ्चालनजस्ता काम गरेर परिवार धानिरहेका उनी, ७ वर्षीया छोरीका पिता थिए। उनको निधनपछि परिवार गहिरो शोकमा डुबेको छ।
परिवारले निष्पक्ष अनुसन्धानको माग गर्दै, दोषीलाई कडा कारबाही र आफूहरूलाई सुरक्षा दिन सरकारसँग अपील गरेका छन्।

प्रहरी अनुसन्धान जारी
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। मल्ल दाजुभाइलाई पक्राउ गरी हिरासतमा राखिएको छ। अनुसन्धान पश्चात घटनाका थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


