घोडाघोडीमा विभत्स हत्या : रिचार्ज लिन गएका युवकको घाटीमा प्रहार गरी हत्या
कैलाली, असोज २५ – कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा एक विभत्स हत्याको घटना सार्वजनिक भएको छ। शुक्रबार राति मोबाइल रिचार्ज लिन गएका २८ वर्षीय केशर सिंह बुढाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको हो।

स्थानीय गंगा बुढा क्षेत्री र बलबहादुर विकले घाँटीमा धारिलो हतियारले प्रहार गरी बुढाको हत्या गरेका हुन्। हत्या गरेपछि उनीहरूले मृतकको टाउको साथमा लिएर घोडाघोडी–६ मा रहेको अस्थायी प्रहरी पोस्टमा आत्मसमर्पण गरेका थिए।
इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीका अनुसार, घटनापछि प्रहरी टोलीले तत्कालै अपराधमा संलग्न दुई अभियुक्तलाई नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको छ।

स्थानीयहरूले दिएको जानकारी अनुसार, घटना हुनुअघि तीनै जना एकै स्थानमा बसेर मदिरा सेवन गरेका थिए। त्यसपछि आफूहरूले घर पुर्याइदिन्छौं भन्दै केशर सिंहलाई झिकेर लगेर करिब ५०० मिटर टाढा लगेर घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सबैभन्दा चकित पार्ने कुरा के छ भने, मृतक र दुई अभियुक्तबीच पहिले कुनै व्यक्तिगत चिनजान नभएको खुलेको छ। पहिलो भेटमै यस्तो नृशंस हत्या हुनुले स्थानीयहरू स्तब्ध भएका छन्।
हत्या किन र कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास र शोकको माहोल सिर्जना भएको छ।

