कैलाली, मोहन्याल | संघीय र प्रदेश सरकारबाट प्राप्त हुने बजेटमा कटौती हुनुका साथै आन्तरिक आम्दानीमा समेत कमी आएसँगै कैलालीको मोहन्याल गाउँपालिकाले मितव्ययी नीति लागू गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष देबिदत्त उपाध्याय ‘हिमशिखर’को हस्ताक्षर रहेको निर्देशात्मक आदेशमार्फत सबै शाखा तथा कर्मचारीलाई खर्च नियन्त्रणका लागि स्पष्ट निर्देशन दिइएको हो।

निर्देशन अनुसार अब तालिम, भ्रमण, गोष्ठी, सेमिनार तथा बैठकहरूमा हुने खर्च न्यूनतम राख्नुपर्नेछ, र अत्यावश्यक भए मात्र त्यसका लागि स्वीकृति दिइनेछ। इन्धन, मर्मत, स्टेसनरी, आतिथ्यलगायतका खर्चहरू तोकिएको बजेट सीमाभित्र मात्र गर्न भनिएको छ।गाउँपालिकाले पालिकाबाहिर रहेका स्टोर तथा भण्डारणहरू तत्कालै पालिका कार्यालय परिसरभित्र सार्न र औषधि तथा सामग्रीको व्यवस्थापन कार्यालयबाटै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

नयाँ सामान खरिद गर्दा आवश्यकताको मूल्यांकन, प्राथमिकता र प्रतिस्पर्धात्मक दरको आधारमा मात्र खरिद प्रक्रिया अघि बढाउन भनिएको छ। सार्वजनिक धनको दुरुपयोग रोक्न प्रत्येक शाखाले मासिक उपयोग विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।सरकारी सवारी साधन व्यवस्थापनमा पनि कडाइ गरिँदैछ। मोटरसाइकल प्रयोग गर्दा अनिवार्य रूपमा लगबुक भर्नुपर्ने, इन्धन माग गर्दा प्रयोग विवरण पेश गर्नुपर्ने, र अनधिकृत व्यक्तिद्वारा प्रयोगमा आएका मोटरसाइकल फिर्ता गराई आवश्यक कारबाही गर्न भनिएको छ।त्यस्तै, भ्रमण खर्च भुक्तानी भ्रमण अघि स्वीकृत भई प्रयोजन स्पष्ट गरिएको अवस्थामा मात्र हुनेछ।

सवारी भाडा प्रयोग गर्दा भने अनिवार्य रूपमा फिल्ड प्रतिवेदन र फोटोसहितको विवरण राख्नुपर्नेछ। इन्धन र मर्मतसम्भारका लागि मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ।गाउँपालिकाले सार्वजनिक धनको सदुपयोग र पारदर्शिता सुनिश्चित गर्न सबै शाखा तथा कर्मचारीलाई उक्त निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।-
