धनगढीमा बस दुर्घटना, एक पैदलयात्रीको मृत्यु
धनगढी, असाेज १८ – धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक पैदलयात्रीको ज्यान गएको छ।

शनिबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बोराडाँडीमा ग २ ख १९०७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा पैदल हिँडिरहेका ६० वर्षीय गणेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी राजकुमार सिंहले बसले पैदलयात्रीलाई ठक्कर दिएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

