
डोटीको गोपघाटमा दशैँ बिदामा घर आएका ट्राफिक प्रहरी मृत फेला
डोटी, २०८२ असोज १८ — डोटीको गोपघाटमा शुक्रबार राति एक ट्राफिक प्रहरी मृत अवस्थामा फेला परेका छन्। मृत भेटिएका प्रहरी हुन्– शंकर बलायर, जो नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा अन्तर्गत दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।

बलायर डोटी जिल्लाको शिखर नगरपालिका–८ तिलताली निवासी हुन्। दशैंको अवसरमा उनी २०८२ साल असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको घर विदामा आएका थिए।
शुक्रबार राति गोपघाटस्थित खहरे खोलाको किनारमा उनको शव फेला परेको हो। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोटीको टोली घटनास्थलमा पुगेर स्थलगत अनुसन्धान थालेको छ। प्रहरीका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएको छ र थप अनुसन्धान जारी छ।

प्रहरी स्रोतले प्रारम्भिक रूपमा शवको प्रकृति हेर्दा मृत्युको कारण खुल्न सकेको छैन। आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाइएको छ।

शंकर बलायरको असामयिक निधनले स्थानीयस्तरमा शोकको वातावरण छाएको छ।
