काठमाडौँ, गोकर्णेश्वर – २ असाेज २०८२
गोकर्णेश्वर नगरपालिका–७, शिवचोकस्थित एक निजी घरमा खाना खाइरहेको अवस्थामा चार जनाको समूहमा आएका व्यक्तिहरूले एकजना महिलामाथि खुकुरी प्रहार गरेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणकारीहरू घरभित्र पसेर महिला माथि अचानक खुकुरी प्रहार गरी फरार भएका थिए। पीडित महिलालाई गम्भीर अवस्थामा उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। हाल उनको अवस्थाबारे कुनै जानकारी प्राप्त छैन् ।

सुरक्षा निकायले घटनाको अनुसन्धान सुरु गरेको छ भने आक्रमणकारीहरूको खोजी तीव्र पारिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत रिसइवी वा पुरानो विवादका कारण आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।
यस घटनाले राजधानी भित्रै घरभित्र पनि सुरक्षित महसुस गर्न नसकिने अवस्था देखिएको छ। स्थानीय बासिन्दाहरू त्रसित छन् र सुरक्षा निकायलाई थप सतर्कता अपनाउन आग्रह गरेका छन्।

सामान्य जीवनयापन गरिरहेका सर्वसाधारण नागरिकहरूका लागि यस्तो प्रकारको हिंसात्मक घटना अत्यन्तै दुःखद र चिन्ताजनक भएको भन्दै स्थानीय समुदायले सुरक्षाका लागि सामूहिक सचेतना र सतर्कता आवश्यक रहेको बताएका छन्।
सन्देश:
हालको अवस्थामा नागरिकहरूले आफ्नो सुरक्षा प्रति विशेष ध्यान दिन आवश्यक देखिएको छ। घरभित्रै असुरक्षा महसुस गरिने यस्ता घटनाहरूले सावधानी र सतर्कताको आवश्यकता झनै बढाएको छ। कृपया अञ्जान व्यक्तिहरूलाई सजिलै प्रवेश नदिनुहोस् र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुहोस्।
