काठमाडौं, २ असाेज २०८२ –
देशभर सामाजिक सञ्जालमा तीव्र चर्चा बटुलिरहेका कानुनका विद्यार्थी प्रवेश दाहाल अहिलेको विद्यार्थी आन्दोलनको एक सशक्त, संयमित र जिम्मेवार आवाजका रूपमा उदाएका छन्। दाहाल विराटनगरमा अध्ययनरत हाल काठमाडौंमा छन् र सडकमा आवाज उठाइरहेका विद्यार्थीहरूका तर्फबाट आन्दोलनको भावनालाई राष्ट्रिय बहसमा रूपान्तरण गर्न सफल भएका छन्।

दाहालले भनेका छन्, “यो आन्दोलनमा कोठा भाडामा बस्ने साधारण मान्छे आएका हुन्। अहिले विद्यार्थीले कोठा भाडामा नपाउने स्थिति आएको छ। गाउँका किसान र मजदुरका सन्तानहरू नै आएर यो आन्दोलन सफल बनाएका हुन्।”

उनको भनाइमा, अहिले भइरहेको आन्दोलन कुनै राजनीतिक स्वार्थको परिणाम होइन, बरु न्यायका लागि गरिने एउटा स्वाभाविक र विवेकशील प्रयास हो। “आज कसैले कसैलाई राजनीतिक दबाबमा पारेर उत्तेजना नपारियोस्। अब हामी सडकमा आउन चाहँदैनौं, तर सडकका मागहरू सम्बोधन हुनुपर्छ,” दाहालले स्पष्ट पारे।
दाहालले सरकारसँग खुला संवादको प्रस्ताव गर्दै सबै मन्त्रीहरूलाई भेट्न चाहेको जनाए। “हामी माननीय सम्पूर्ण मन्त्रीज्यूहरूलाई भेट्न चाहन्छौं। हाम्रा मागहरू सुन्नुपर्छ। हामी सडक आउन सक्नेहरू हौँ भने, सरकार पनि हाम्रा माग पूरा गर्न सक्नुपर्छ,” उनले जोड दिए।

आन्दोलनलाई अहिंसात्मक, समावेशी र विवेकपूर्ण बनाउन दाहालले अग्रसरता लिएका छन्। विभाजन, आरोप–प्रत्यारोप र उत्तेजनाबाट टाढा रहँदै उनले सबै पक्षसँग संवादको बाटो खुला राख्न आग्रह गरेका छन्। “हामी विभाजित हुने, ताण्डव मच्याउने वा आरोप–प्रत्यारोप गर्ने पक्षमा छैनौं। हामी सम्पूर्णसँग संवाद गर्न चाहन्छौं,” दाहालले उल्लेख गरे।
विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिकामा देखिएका दाहालको भाषणशैली, विषयवस्तुप्रतिको गहिरो बुझाइ र संयमता हेर्दा स्व. मदन भण्डारीको स्मरण गराउने खालको देखिन्छ। उनीमा भविष्यका लागि राष्ट्रिय स्तरको नेतृत्व क्षमता देखिएको चर्चा सामाजिक सञ्जालमा व्यापक छ।

जनताको आवाजलाई संयम र विवेकका साथ उठाउने युवाहरूको खाँचो भइरहेका बेला प्रवेश दाहालजस्ता युवाको उपस्थिति आन्दोलनको मात्र नभएर देशको राजनीतिक भविष्यका लागि पनि उज्यालो संकेत मानिएको छ।
