बाँकेमा चितुवाको आक्रमणबाट महिलाको मृत्यु
नेपालगन्ज, १ असोज — बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। आइतबारदेखि बेपत्ता भएकी ४५ वर्षीया लक्ष्मी थारु सोमबार जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिक मृत अवस्थामा फेला परेकी हुन्।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर गुप्ताका अनुसार घटनास्थलको निरीक्षणका क्रममा शव वरपर चितुवाको पाइलाका डोब देखिएको थियो। साथै, घटनास्थलमा जडान गरिएका क्यामेराबाट संकलित दृश्यले चितुवाको आक्रमण पुष्टि गरेको गुप्ताले जानकारी दिए।

“क्यामेराको मद्दतले चितुवाले आक्रमण गरेको प्रमाणित भएको छ,” प्रमुख गुप्ताले भने, “हाल घटनास्थलमा प्राविधिक टोली पठाइएको छ र चितुवालाई नियन्त्रणमा लिन आवश्यक तयारी थालिएको छ।”
उनका अनुसार जंगल क्षेत्रमा ZSL (Zoological Society of London) को सहयोगमा पाँचवटा क्यामेरा जडान गरिएको छ। यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को टोलीले चितुवा समात्नका लागि खोर निर्माण गर्दैछ।
चितुवाको आक्रमणपछि स्थानीयवासीमा भय र आतंक फैलिएको छ। वन नजिकै बसोबास गर्ने बासिन्दाहरूले चाँडै चितुवालाई नियन्त्रणमा लिन माग गरेका छन्।
वन कार्यालयले जनतालाई सतर्क रहन आग्रह गर्दै वन क्षेत्रमा एक्लै नजान सल्लाह दिएको छ।
