मेयर बालेन शाहको आग्रह: “देश एक ऐतिहासिक मोडमा छ, धैर्य राखौं, परिवर्तन सुनिश्चित गरौं”
काठमाडौं, भदौ २४ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले एक महत्वपूर्ण सार्वजनिक सन्देशमार्फत देश अहिले एक अद्वितीय ऐतिहासिक परिस्थितिमा रहेको भन्दै सबै नेपाली नागरिक, विशेषतः Gen Z पुस्तालाई धैर्य र संयमका साथ अघि बढ्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भनेका छन्, “अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। कृपया नआत्तिनुहोस्, धैर्य राख्नुहोस्।”
बालेनले देश अन्तरिम सरकारतर्फ अघि बढ्न लागेको जनाउँदै उक्त सरकारको प्रमुख दायित्व नयाँ निर्वाचन गराउने र नयाँ जनादेश प्राप्त गर्ने रहेको बताए। उनले देशका विभिन्न क्षेत्रबाट अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस भएकोमा पूर्ण समर्थन व्यक्त गरे।

“तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ,” बालेनले जनाएका छन्।
साथै, उनले वर्तमान अवस्थामा नेतृत्वको आकांक्षा राख्ने युवाहरूप्रति समेत सन्देश दिँदै भनेका छन्, “तपाईँहरूको जोश, सोच र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नुहोस्।”

अन्त्यमा, उनले सम्माननीय राष्ट्रपति समक्ष अनुरोध गर्दै भने, “Gen Z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नुहोस्।”
यो सन्देशले वर्तमान राजनीतिक परिस्थितिमा एक जिम्मेवार र परिपक्व धारणा प्रस्तुत गर्दै, भावी पुस्तालाई स्थिरता र समावेशी निर्णयप्रति प्रेरित गर्न खोजेको छ।
