काठमाडौं २५ भाद्र २०८२ । शिवपुरीबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालैका आन्दोलन र तोडफोड घटनालाई लक्षित गर्दै जेनजी पुस्तालाई खुला पत्र लेखेका छन्।

उक्त पत्र शिवपुरीस्थित आफ्नो आवासीय सुरक्षाघेराभित्रबाट सार्वजनिक भएको हो।पत्रमा ओलीले आफू बालबालिकाप्रति सदैव भावुक हुने गरेको स्मरण गर्दै, हिंसात्मक गतिविधिमा जेनजी पुस्ताको निर्दोष भावनालाई प्रयोग गरिएको हुनसक्ने टिप्पणी गरेका छन्।
उनले भने, “मलाई विश्वास छ, तिमीहरूको कोमल हातहरूबाट त्यस्तो भएको होइन। तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ।”व्यवस्था परिवर्तनका क्रममा भोगेका पीडा र बलिदानबारे उल्लेख गर्दै ओलीले हालको लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न संवेदनशील हुन आग्रह गरेका छन्।
उनका अनुसार, आजको व्यवस्थाले नै युवालाई बोल्ने, आन्दोलन गर्ने र प्रश्न गर्ने अधिकार दिएको छ।उनले आफ्नो राजनीतिक यात्रामा ‘जिद्दीपन’ नै प्रमुख प्रेरणा भएको बताउँदै, लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अङ्ग भएको अडानदेखि श्रीराम नेपालमै जन्मिएको धारणा र सामाजिक सञ्जाल नियमनजस्ता मुद्दामा पनि यही अडानले आफूलाई अघि बढाएको उल्लेख गरेका छन्।

ओलीले पत्रमा लेखेका छन्, “पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो।”उनले जेनजी पुस्तालाई शान्ति र व्यवस्थाप्रति सजग रहन आग्रह गर्दै पत्र अन्त्य गरेका छन्।
