काठमाडौं, भदौ २२ — सामाजिक सञ्जाल बन्द गर्ने सरकारको सम्भावित निर्णयको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले आन्दोलनमा जाने घोषणा गरेका छन्। उनीहरूले यही आइतबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताएका छन्। पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दहाल, गोविन्द आचार्य, रमेश विष्ट लगायतका पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

पूर्वपदाधिकारीहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “सूचना, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विरुद्धमा हुने कुनै पनि कदम सह्य हुँदैन।” उनीहरूले सामाजिक सञ्जाल बन्द गर्नु भनेको जनताको मौलिक अधिकारमाथि हस्तक्षेप गर्नु भएको आरोप लगाए।

दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको संविधानले प्रत्याभूत गरेका धारा १७ (स्वतन्त्रताको हक), धारा १९ (सञ्चारको हक) र धारा २७ (सूचनाको हक) जस्ता मौलिक अधिकारहरूमाथि सिधा प्रहार गरेको उल्लेख छ। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यता विपरीत र पूर्णरूपमा अस्वीकार्य छ ।’

सरकारले हालै सामाजिक सञ्जालमा कडाइ गर्ने संकेत दिँदै विभिन्न प्रस्तावहरू अघि सारेपछि पत्रकार तथा नागरिक अधिकारकर्मीहरू त्यसको विरोधमा उत्रिन थालेका छन्।
पूर्वपदाधिकारीहरूले सबै सञ्चारकर्मी, नागरिक समाज र स्वतन्त्रता पक्षधर सबैलाई उक्त विरोध कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
