कैलाली, मोहन्याल २० भाद्र २०८२ – मोहन्याल गाउँपालिका–३ फलेबिसाउनस्थित शान्ति माध्यमिक विद्यालयमा २१ वर्षसम्म प्रधानाध्यापकका रूपमा सेवा पुर्याएका मिनबहादुर दर्लामीलाई शुक्रबार एक कार्यक्रमका बीच विदाई गरिएको छ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर गिरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य नानी दमाई, वडा नं ३ का वडाध्यक्ष मानबहादुर बिष्ट, नवनियुक्त प्रधानाध्यापक मानबहादुर बुढा, सहायक प्रधानाध्यापक गोपालबहादुर केसीसहित स्थानीय बुद्धिजीवी, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।

२१ वर्षसम्म विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र कक्षा १२ सम्म विस्तारमा महत्वपूर्ण भूमिका खेलेका निवर्तमान प्रधानाध्यापक दर्लामीले कार्यक्रममा समुदायप्रति आभार व्यक्त गर्दै भावुक बिदाइ भाषण गरेका थिए।
कार्यक्रममा उपाध्यक्ष साउदले विद्यालयको समग्र विकासमा गाउँपालिका सधैं तत्पर रहने उल्लेख गर्दै दर्लामीको आगामी जीवनका लागि शुभकामना व्यक्त गरे। कार्यपालिका सदस्य दमाईले विद्यार्थी तथा अभिभावकले संस्कार सिक्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालयसँगै समाजले पनि अग्रसर हुनुपर्ने धारणा राखिन्।


त्यस्तै, सामुदायिक वनका अध्यक्ष सुनिल टमटा र सचिव गणेश टमटाले कार्यक्रममा अभिभावकहरूको उपस्थिति न्यून देखिएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई अभिभावकको कमजोरीका रूपमा औंल्याएका थिए।
नवनियुक्त प्रधानाध्यापक मानबहादुर बुढाले गीतमार्फत पूर्वप्रधानाध्यापक दर्लामीलाई बिदाइ गर्दै कृतज्ञता प्रकट गरे भने कार्यक्रम सञ्चालन शिक्षक हर्क बोहराले गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक रामबहादुर थापालाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको विद्यालयले जनाएको छ।
