- रुबीको शव खुम्च्याएर राखिएको अवस्थामा भेटिएको छ। श्रीमान्सँग सोधपुछ जारी छ भने सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ।

कैलाली, भाद्र ८, २०८२ — रौतहटमा सुटकेसमा मृत भेटिएकी रुबीकुमारी साहका श्रीमान् भारतबाट रौतहट आइपुगेका छन् । बिहारको मुजफ्फरपुरबाट रुबीका श्रीमान् शिवसागर साह रौतहटको गौर आएका हुन् ।
शनिबार साँझ बजार जान भनेर डेराबाट निस्केकी रुबीको शव राति सुटकेसभित्र फेला परेको थियो । साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई रुबीले अन्तिम पटक फोन गरेको थिइन् ।
त्यसपछि रुबी फर्किइनन्। छोरी नफर्किएपछि आफू रातभर नसुतेको आमा मिथिलाले बताइन्। रुबीको मोबाइल घटनास्थलमा फेला परेको छैन। राति बाटोमा बेवारिसे सुटकेस देखेपछि प्रहरीले खबर गरेका थिए । तर शंकास्पद देखेपछि प्रहरीले सुटकेस खोलेन । बिहान सुटकेस खोल्दा रुबीको शव भेटिएको हो ।
श्रीमान् शिवसागरले प्रहरीलाई बताएअनुसार रुबी आज नै मुजफ्फरपुर जाने कुरा थियो । साहसित अहिले पनि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए । ‘हामी अनुसन्धानमा लागेका छौँ । श्रीमान्सँग सोधपुछ गर्दैछौँ,’ उनले भने, ‘घटना रहस्यमय छ। हामी पत्ता लगाउँछौँ ।’
सुटकेसभित्र रुबीको शव खुम्च्याएर राखिएको अवस्थामा भेटिएपछि प्रहरी आश्चर्यमा परेको छ । रुबीको हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले बिहानदेखि वरपरको सीसी क्यामेरा फुटेज र मोबाइल लोकेसनको आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । सडक छेउमा ठूलो निलो रङको सुटकेसलाई बाहिरबाट डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो। रातिको समयमा शंकास्पद सुटकेस भएकाले सुरक्षा मात्रै दिएर राखेको डीएसपी कार्कीले बताए। ‘सुटकेसभित्र कुनै विस्फोटक पदार्थ छ कि भन्ने थियो,’ उनले भने, ‘बिहान मात्रै खोलेर हेर्दा शव फेला पर्यो ।’
प्रहरीका अनुसार सुटकेसभित्र रुबीको खुट्टा दोबारेर राखिएको थियो । शरीरका कुनै भागमा पनि चोटपटक लागेको छैन । नाकमा थोरै रगत बगेजस्तो अवस्थामा हातखुट्टा खुम्च्याएर प्याक गरिएको अवस्थामा शव भेटिएको थियो । सनाखतपछि घटनास्थलको मुचुल्का गरेर अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
भारतको मुजफ्फरपुर जिल्लाको रुक्साटोलका साहसित रुबीको ५ वर्षअघि विवाह भएको थियो । डीएसपी कार्कीका अनुसार उनी पछिल्लो समय गौरस्थित माधवपट्टीमा डेरा गरेर बस्दै आएकी थिइन् । गौर बजारबाट उनको डेरा करिब एक किलोमिटर टाढा पर्छ । रुबी आमा र ४ वर्षीय छोरासँगै डेरामा बस्थिन् । छोराको पढाइले गर्दा गौरमा डेरा लिएर बसेको माइती पक्षको भनाइ छ ।
रुबीको शव भेटिएको ठाउँबाट डेराको दूरी करिब ५ किलोमिटर रहेको प्रहरीले बताएको छ। नेपाल–भारत सीमा भएकाले भारत लगेर हत्या गरी नेपालमा शव फालिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
प्रहरीले कपडासहितको रुबीको शव भेटिए पनि उनले प्रयोग गर्ने मोबाइल फेला परेको छैन । हत्यापछि मोबाइल लगेको वा कतै नष्ट गरेको हुनसक्ने प्रहरीको अनुमान छ । रुबीको हत्या भएको खबर पाउनासाथ श्रीमान् शिवसागर रौतहट आएका हुन् ।
