काठमाडौं, कात्तीक २६ — जेन्जी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्यलाई सहज र प्रभावकारी बनाउन सरकारले कार्यविधि स्वीकृत गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार “जेन्जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२” मन्त्रीस्तरबाट मिति २०८२ कात्तीक २४ गते स्वीकृत गरिएको हो।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि उक्त कार्यविधिअनुसार हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिने व्यवस्था गरिएको छ।

यसै क्रममा नेपाल सरकार गृह मन्त्रालयले मिति २०८२ कात्तीक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी, सम्बन्धित जिल्लामा वर्गीकरण कार्य सम्पन्न गरी स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा वर्गीकृत विवरण पठाउन निर्देशन दिइसकेको छ।

मन्त्रालयले घाइतेहरूको वर्गीकरण कार्य समयमै सम्पन्न गर्न जिल्लास्थित अस्पतालका चिकित्सकहरू तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई आवश्यक सहयोग गर्न अनुरोध समेत गरेको छ।


