दाङ, २४ कार्तीक २०८२, दाङका “घोराही उपमहानगरपालिका–३ र ५ केही बस्तीहरूमा इन्टरनेट र टेलिफोन सेवा नपुग्ने समस्याबारे जानकारी पाएपछि मन्त्री जग्दिश खरेलले तत्काल सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। भोजराज थापाले गरेकाे रिपाेर्टर अनुसार जनताका समस्या सुनेर तुरुन्त समाधान गर्न सकिने उदाहरण संचार मन्त्री जग्दिश खरेलले प्रस्तुत गरेका छन्।

दाङका स्थानहरूमा देखिएको नेटवर्क समस्या सम्बन्धी भिडियो र प्रत्यक्ष भेटमार्फत जानकारी प्राप्त गरेपछि मन्त्री खरेलले हिजो नेपाल टेलिकमका अधिकारीहरूलाई तत्काल कदम चाल्न निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनअनुसार नेपाल टेलिकम दाङ डिभिजन कार्यालयका प्रमुख बरिष्ठ इन्जिनियर (आठौं) प्रविण चौधरीको नेतृत्वमा प्राविधिक टोली बिहानैदेखि फिल्डमा खटिएको छ।

इन्जिनियर चौधरीका अनुसार,
“घोराही उपमहानगरपालिका–३ र ५ का केही क्षेत्रमा भूगोलिक कारणले नेटवर्क अवरुद्ध हुने समस्या देखिएको छ। सो समस्या समाधानका लागि नेपाल टेलिकम, तुल्सीपुर, दाङले 4G नेटवर्क सुधार कार्य तुरुन्तै सुरु गरेको छ। अहिले प्राविधिक टोली फिल्डमै खटिएको छ र सम्भव भएसम्म आज साँझ वा ढिलोमा भोलिसम्म समस्या समाधान हुने अपेक्षा गरिएको छ,” उनले बताए।

पहिलेका दिनमा समस्या देखेपछि ‘गरिदिन्छु’ भन्ने शैलीमा काम अलपत्र पर्नेजस्तो प्रवृत्ति देखिँदै आएको भए पनि, यसपटक मन्त्री खरेलको सक्रियता र तत्काल निर्देशपछि सेवा सुधार कार्य तीव्र गतिमा अघि बढेको देखिएको छ।
स्थानीयवासीले मन्त्रीको पहल र टेलिकमको तत्काल सक्रियताको स्वागत गरेका छन्।


