निजी क्षेत्रका नर्सहरूलाई ऐतिहासिक उपलब्धि : स्वास्थ्य मन्त्रालयको पहलमा तलब वृद्धिको ऐतिहासिक सम्झौता


काठमाडौं । लामो समयदेखि न्यून तलबमा काम गर्दै आएका निजी क्षेत्रका नर्सहरूले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । नेपाल नर्सिङ संघको नेतृत्वमा चलेको आन्दोलन र त्यसपछिको निरन्तर वार्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेष पहलमा निजी स्वास्थ्य संस्थाहरूसँग महत्वपूर्ण सहमति भएको हो।

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको प्रत्यक्ष पहल र कार्यदलको उपस्थितिमा नेपाल नर्सिङ संघ, मेडिकल कलेजहरू र निजी स्वास्थ्य संस्थाबीच सम्पन्न वार्ताबाट ऐतिहासिक सहमति भएको मन्त्रालयले जनाएको छ।

मुख्य सम्झौताहरू
- निजी मेडिकल कलेजहरूका शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारको कम्तिमा पाँचौं तहको सुरुवाती तलब स्केल रु. ३४,७३० कार्तिक महिनादेखि नै प्रदान गरिनेछ।
- यसमा अतिरिक्त सेवा बापतको पारिश्रमिक र रात्रीकालीन ड्युटी भत्ताहरू अलग हुनेछ।
- अन्य निजी तथा सामुदायिक अस्पतालहरू र डेन्टल कलेजहरूले हालको सरकारी स्केलको ८०% (रु. २७,७८४) न्यूनतम तलबका रूपमा दिनुपर्नेछ।
- सरकारी र निजी क्षेत्रका नर्सहरूको अन्य मागहरूबारे कार्यदलले अस्पतालहरूको वर्गीकरण गरी एक महिनाभित्र कार्ययोजना प्रस्तुत गर्ने सहमति भएको छ।

यो सहमतिलाई नर्सहरूको लामो संघर्षको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। नेपाल नर्सिङ संघले स्वास्थ्य मन्त्री डा. शर्मालाई, मेडिकल कलेज र अस्पतालहरूलाई, साथै आन्दोलनमा सहभागी सबै नर्सहरूलाई धन्यवाद व्यक्त गरेको छ।


स्वास्थ्य मन्त्रालयका अनुसार, उक्त निर्णयले निजी क्षेत्रका नर्सहरूको जीवनस्तरमा सुधार ल्याउने र देशभित्र नै नर्सहरूलाई काम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
— नेपाल समाचार सेवा


