श्री जनविश्वास कृषि सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न
कैलाली ,कार्तिक १९ २०८२ || घोडाघोडी नगरपालिका–८ कल्जुकेस्थित श्री जनविश्वास कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

कार्यक्रमका सभाध्यक्ष टेकबहादुर लामिछाने रहनुभएको उक्त सभामा नगर प्रमुख खडकबहादुर राउत प्रमुख अतिथि, वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर साउद विशिष्ट अतिथि, साथै लेखा संयोजक करबिर लामिछाने, कर्जा संयोजक धनबहादुर विश्वकर्मा, शिक्षा संयोजक मञ्जु जनाल लगायतका अतिथि, पत्रकार तथा शेयर सदस्यहरूको उपस्थितिमा सभा सम्पन्न भएको थियो।

शिक्षा संयोजक मञ्जु जनालले शुभकामना मन्तव्य प्रदान गर्नुभयो भने, कार्यक्रमको सञ्चालन सचिव रोशन रसाइलीले गर्नुभएको थियो।
सभामा उत्कृष्ट कृषकका रूपमा धनबहादुर चौधरीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ताको रूपमा थोले बरबिजे, उत्कृष्ट महिला बचतकर्ताको रूपमा पविदेवी ओड, र उत्कृष्ट पुरुष बचतकर्ताको रूपमा गोरे सार्कीलाई पनि दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।

संस्थाका सभाध्यक्ष टेकबहादुर लामिछानेले सहकारी सदस्य किसानहरूलाई उत्पादनमुखी कार्यमा संलग्न गराउँदै सहकारीलाई अझ सशक्त बनाउन प्रतिबद्धता दिदै आ.व २०८१/ २०८२ काे रू. ४४५२४०८ बराबरकाे लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे।
प्रमुख अतिथि नगर प्रमुख खडकबहादुर राउतले सहकारी संस्था छरिएका स्रोत र साधनलाई एकीकृत गरी उत्पादन र कर्जामा परिणत गर्ने माध्यम भएको उल्लेख गर्दै, कृषि सहकारी भएकाले नगरपालिकाले पनि कृषि उत्पादन वृद्धिका लागि आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

विशिष्ट अतिथि वडा अध्यक्ष वीरबहादुर साउदले नियमित बचत गर्नु नै भविष्यका जोखिम न्यूनीकरणको उपाय भएको बताउँदै, सहकारीमार्फत मल–बिउ वितरण र खरिद–बिक्रीमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
संस्थापक अध्यक्ष धनबहादुर विश्वकर्माले सहकारी स्थापना र विगतका योगदानलाई स्मरण गर्दै इमान्दारिता र पारदर्शितासहित संस्थालाई अघि बढाउन सबै सदस्यहरूलाई आह्वान गर्नुभयो।

कृषि सहकारी संस्थाद्वारा आयोजित कार्यक्रममा समाजसेवी तथा स्वास्थ्यकर्मी इन्द्र दहितले संस्थाले छोटो समयमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गर्नुभयो। पाँच वर्षअघि स्थापना भएको सहकारीले उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरेको देख्दा खुशी लागेको बताउँदै दहितले सहकार्य र संगठनमार्फत नागरिकहरूलाई सक्षम र स्वावलम्बी बनाउने कार्य नै सहकारीको सफलता भएको उल्लेख गर्नुभयो।

त्यस्तै, लेखा संयोजक करबिर लामिछानेले संस्थाको कार्यसम्पादनलाई अझ चुस्त, दुरुस्त र पारदर्शी बनाउने आवश्यकता औंल्याउँदै शुभकामना मन्तव्य दिनुभयो।
कार्यक्रममा तिलकनगर युवा क्लबका अध्यक्ष लोकेन्द्र तिरुवाले सहकारीको सफलताको कामना गर्दै कविता वाचन गर्नुभएको थियो।
किसानले उत्पादन गर्छन्, हाटबजारमा पर्व लाग्छ,
आफ्नै भूमि हराभरा पार्छन्, मनमा निकै गर्व लाग्छ,
कृषि अनुदानको नाममा राज्यलाई लुट्नेहरु,
न त उत्पादन न भूमिको सदुपयोग किसान भन्न शर्म लाग्छ,
यूवा जति विदेशीन्छन्, खेतबारीमा उत्पादन छैन,
किनभने हाम्राे देशमा परिश्रमीलाई प्रोत्साहन छैन,
अरे हजुर भाषणमा त भनिन्छ राज्यले हेरेको छ,
लुट्नेलाई मालामाल तर मेहनतिलाई अनुदान छैन

समापन सत्रमा उपस्थित अतिथिहरूले सहकारीको निरन्तर प्रगति, स्थानीय कृषकहरूको आर्थिक सशक्तीकरण र उत्पादनमुखी विकासका लागि शुभकामना व्यक्त गरेका थिए।


