घोडाघोडी नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा सम्पन्न

कात्तिक १८, २०८२ | सुखड
कैलालीको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। सोमबार सुखडमा सम्पन्न उक्त कार्यक्रम नगर प्रमुख खडक बहादुर रावतको अध्यक्षतामा भएको हो।

दुई दिनसम्म (आईतबार र सोमबार) चलेको समीक्षा गोष्ठीमा नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, घोडाघोडी अस्पताल, सिएस अस्पताल तथा सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरूले आफ्ना–आफ्ना संस्थाका वार्षिक प्रगति, आम्दानी–व्यय विवरण र देखिएका समस्या प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका आगामी कार्य योजनाबारे छलफल गर्नुका साथै वर्षभरिका उपलब्धि र चुनौतीहरूको मूल्यांकन गरिएको थियो। भौतिक संरचना, पोषण कार्यक्रम, गर्भवती र नवशिशुको स्वास्थ्य, औषधि वितरण तथा मातृ स्वास्थ्य सेवाका विषयमा विशेष रूपमा समीक्षा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रावतले वार्षिक समीक्षा केवल औपचारिकतामा सीमित नभई स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन आवश्यक सुधारका बुँदामा कार्यान्वयन गर्न आग्रह गरे। केही स्वास्थ्य संस्थाको गतिविधि सन्तोषजनक नभएको उल्लेख गर्दै उनले सुधारका लागि ठोस कदम चालिने बताए।

स्वास्थ्य शाखाका अनुसार, कार्यक्रममा उठेका सुझाव र सुधारका सिफारिसहरू आगामी वर्षका योजनामा समावेश गरिनेछ।
कार्यक्रममा नगरका जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


