लम्कीमा एक दिने ख्रीष्टियन सांस्कृतिक कार्यक्रम हुने
कैलाली, लम्की | कार्तिक ७ – नेपाल राष्ट्रिय इसाई समाजको लम्कीचुहा शाखाको आयोजनामा एक दिने ख्रीष्टियन सांस्कृतिक कार्यक्रम लम्कीमा आयोजना हुने भएको छ। कार्यक्रम कार्तिक ७ गते शुक्रबार, लम्कीचुहा नगरपालिका–२, मोतिपुरस्थित खुला मञ्चमा हुनेछ।

लम्कीचुहा नगर इसाई समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक पाष्टर चेतराज जोशीले लम्कीस्थित सौराई होटलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै, समुदायभित्र एकता, मेलमिलाप, सहअस्तित्व, प्रेम र आपसी सम्मानको भावना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा स्थानीय मण्डलीका अगुवा, सामुदायिक प्रतिनिधि र सांस्कृतिक कलाकारहरूको विशेष सहभागिता रहने जनाइएको छ। कार्यक्रममा ख्रीष्टियन सांस्कृतिक प्रस्तुति, स्तुति आराधना, गवाही, प्रेरणादायी बाइबल प्रवचन तथा सामाजिक सन्देशमूलक कार्यक्रमहरू प्रस्तुत गरिने संयोजक जोशीले जानकारी दिनुभयो।

कार्यक्रम सफल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको भन्दै संयोजक जोशीले सर्वसाधारणको उपस्थितिका लागि आग्रह समेत गर्नुभयो।

