जानकी, कैलाली — मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकालेर ७३ लाखभन्दा बढीको भ्रष्टाचार, वडाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

कैलाली — मृत्यु भइसकेका लाभग्राहीहरूको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–९ का वडाध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार वडाध्यक्ष खकेन्द्र भण्डारी, वडासचिव प्रेमबहादुर बुढा, तत्कालीन खरिदार पूर्णबहादुर बिष्ट, कार्यालय सहयोगी सोनम कठरीया र वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मालाई प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार जानकी गाउँपालिका–९ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ६८३ जना लाभग्राहीको व्यक्तिगत रूपमा उपस्थित नहुँदै औंठाछाप लगाएर रकम निकासा गरेको पाइएको छ। त्यसमध्ये धेरैजसो लाभग्राही मृत भइसकेका थिए वा भत्ता नवीकरण गर्न नआएका थिए।

झुटा औंठाछाप प्रयोग
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट गरिएको परीक्षणले वडासचिव बुढाले ४७९ वटा झुटा औंठाछाप लगाएको प्रमाणित गरेको छ। जसमा दाहिने हातको बुढी औंलाबाट २८० र माझी औंलाबाट १९९ वटा औंठाछाप लिइएको थियो। कार्यालय सहयोगी कठरीयाले २०४ वटा औंठाछाप प्रयोग गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ।

१५ लाख मृत्यु भइसकेकाको नाममा
मृत्यु भइसकेका व्यक्तिहरूको नाममा मात्र झण्डै १५ लाख ५० हजार रुपैयाँ निकासा गरिएको र बाँकी रकम अन्य झुटा विवरणमार्फत निकालेको आयोगको दाबी छ। आयोगले वडाध्यक्ष, वडासचिव, कार्यालय सहयोगी र तत्कालीन खरिदारसँग संयुक्तरूपमा ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
योजनाबद्ध अनियमितता

आयोगले यो अनियमिततालाई योजनाबद्ध भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ। “मृत्यु भइसकेका लाभग्राहीको नाममा बारम्बार नवीकरण गरी भत्ता वितरण गर्नु गम्भीर आपराधिक कार्य हो,” आयोगको विज्ञप्तिमा उल्लेख छ।
सामाजिक सुरक्षा जस्तो संवेदनशील कार्यक्रममार्फत यस्तो अनियमितता हुनु अत्यन्त निन्दनीय भएको भन्दै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन विशेष अदालतमार्फत प्रक्रिया अघि बढाएको जनाएको छ।

