दलित समुदायको आवाज बनेका खगेन्द्र सुनार
कैलाली, कार्तिक १–दलित अधिकारका लागि निरन्तर संघर्षरत अभियन्ता खगेन्द्र सुनार पछिल्ला दिनमा “दलितका लागि दलित अभियान” नामक सशक्त आन्दोलनमार्फत सार्वजनिक चासोको केन्द्र बनेका छन् ।

जातीय विभेद, छुवाछुत, राजनीतिक उपेक्षा र सामाजिक अन्यायविरुद्ध उभिएर उनले दलित समुदायको पक्षमा शक्तिशाली आवाज उठाउँदै आएका छन्।राजनीतिक दलहरूमा दलितको नेतृत्व अभावप्रति आक्रोश व्यक्त गर्दै उनले नयाँ दल गठनको संकेत समेत दिएका छन्। “राजनीतिक दलहरूले दलितलाई केवल मतदाता सम्झिए, तर नेतृत्वको अवसर दिएनन्,” भनी सुनारले एक कार्यक्रममा बताएका थिए। सुनारको अभियानको विशेषता भनेको उनका प्रतिकात्मक र सशक्त प्रदर्शनहरू हुन्।

कहिले संसद भवनतर्फ जुलुससहित धर्ना, त कहिले “दलितलाई खै?” भन्ने नारासहितको प्रदर्शनमार्फत उनले राज्य र समाज दुबैलाई प्रश्न गरिरहेका छन्। यस्ता क्रियाकलापका कारण उनी केही पटक पक्राउमा पनि परेका छन्।उनले संविधानमा सुनिश्चित अधिकारहरू व्यवहारमा लागु नभएको भन्दै राज्यलाई बारम्बार सचेत गराएका छन्। “कानुन छ, तर कार्यान्वयन छैन। आयोग छ, तर दाँतविहीन छ,” भनी उनले हालैको कार्यक्रममा बताएका थिए।दलित समुदायको राजनीतिक प्रतिनिधित्वमा पनि उनले गहिरो असन्तोष व्यक्त गरेका छन्।

उनका अनुसार संसद, मन्त्रिपरिषद् र प्रमुख प्रशासनिक निकायहरूमा दलितको उपस्थिति नगण्य छ। “राज्य संरचनामा दलित अनुहार खोज्न बिनोकसुर भयो,” उनी भन्छन्। दलितका लागि दलितकै नेतृत्वमा सशक्त अभियान आवश्यक रहेको बताउँदै सुनारले अबको परिवर्तन दलित समुदाय स्वयंको जागरणबाट मात्रै सम्भव हुने दाबी गर्छन्।उनको अभियानले दलित अधिकारका सवालमा राष्ट्रिय बहसलाई तीव्र बनाएको छ।

यद्यपि, उनका आन्दोलनहरू कहिले काँही विवादित पनि बन्ने गरेका छन्। तर, उनको प्रतिवद्धता र निरन्तरता भने दलित आन्दोलनमा एक सशक्त धरोहरका रूपमा देखिएको छ।
