दलित जागरण अभियान: खगेन्द्र सुनारको बुलन्द आवाज घोडाघोडीमा गुन्जियो

घोडाघोडी, कैलाली – २०८२ असोज १ गते
दलित समुदायको हक, अधिकार र न्यायका पक्षमा सशक्त रुपमा आवाज उठाइरहेका दलित अभियानका केन्द्रीय संयोजक खगेन्द्र सुनारले कैलालीको घोडाघोडी नगरपालिका–सुखडमा आयोजित “समुदायको हक र अधिकारका लागि जागरण अभियान” कार्यक्रममा आफूलाई पूर्णतः समर्पित रहेको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि सुनारले देशभरका ७७ जिल्लामा दलित अधिकारको एजेण्डालाई लिएर जनजागरण अभियान सञ्चालन भइरहेको जानकारी दिँदै आगामी चुनाव र पार्टी स्थापनासम्बन्धी सल्लाह, सहकार्य र संगठन विस्तारमा आफू क्रियाशील रहेको बताए।
“अबको लडाइँ दलित अधिकारको सुनिश्चितताको लागि हो। विभेदविरुद्धको यो लडाइँ अब थाक्ने होइन, अझ बुलन्द स्वरमा उठ्न जरुरी छ,” उनले सम्बोधनमा भने।

सम्मानित अतिथिहरूको सहभागिता
![]()


विभेद अन्त्यको अपिल
कार्यक्रमको स्वागत मन्तव्यमा संस्थापक अध्यक्ष लालबहादुर सुनारले भने, “एक्काइसौं शताब्दीमा आइपुग्दा पनि दलित समुदायले अझै पनि पानी नचल्ने जस्ता विभेद भोग्नुपरेको छ, जुन लज्जास्पद हो। यस्तो सामाजिक विकृति अन्त्य गर्न दलित र गैरदलित सबैले एकजुट हुन जरुरी छ।”
सुदूरपश्चिम संयोजक सुरत भुलले खगेन्द्र सुनारको साहसी भूमिका उल्लेख गर्दै भने, “उहाँ विशुद्ध रुपमा दलित समुदायको हक र अधिकारका लागि सरकारसँग डटेर बोल्ने व्यक्तित्व हुनुहुन्छ। हामी सबैले उहाँलाई साथ दिनुपर्छ।”
संविधान र बजेटमा दलित अधिकार सीमित भएको गुनासो
पूर्व वडा अध्यक्षसमेत रहेका अध्यक्ष विनोद विकले दलित समुदाय अझै पनि विभेदको चपेटामा रहेको दुखेसो व्यक्त गर्दै भने, “राज्यले दलितलाई बजेट विनियोजनमा कोटाको नाममा मात्रै सीमित गरेको छ। संविधान जारी भए तापनि दलित अधिकारहरू अझै पनि खोक्रो दस्तावेजमा मात्र सीमित छन्।”
उनले आगामी संविधान संशोधनमा खगेन्द्र सुनारजस्ता नेताहरूले दलित समुदायको हक र अधिकारका लागि आवाज उठाउने विश्वास व्यक्त गर्दै शुभकामना पनि दिएका थिए।
संगठित व्यवस्थापन
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन घोडाघोडी सुनचाँदी व्यवसाय संघले गरेको थियो।
विभिन्न वक्ताहरूले दलित अधिकार, सामाजिक न्याय, समावेशी नीति र समानताको सवालमा धारणा राखेका थिए। सहभागीहरूले यस्तो अभियानले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै अधिकारप्रतिको समझदारी बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।

