इलाम, असोज १९ – शनिबार रातिको भीषण वर्षापछि इलामका विभिन्न स्थानमा गएको पहिरोले कम्तीमा ३७ जनाको ज्यान गएको छ भने दर्जनौँ बेपत्ता र घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार यो वर्षा पछिल्लो तीन दशकयताको सबैभन्दा कडा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाममा पछिल्लो २४ घण्टामा ३२५.२ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसतभन्दा तीन गुणा बढी हो। मौसममा शनिबार दिउँसोदेखि नै असामान्य परिवर्तन देखिएको थियो। बेलुकासम्म मध्यम खालको वर्षा भइरहेकोमा राति १० बजेपछि ‘आरी घोप्टे’ शैलीमा पानी खनिन थाल्यो। यो वर्षा राति २ बजेसम्म निरन्तर रह्यो।
सन्धिकालमै थालियो विनाश
अतिवर्षापछि बिहान उज्यालो नहुँदै पहिरो जान थालेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्। “पहिरो एकैसाथ धेरै ठाउँबाट गएको हुनसक्छ,” उनले भनिन्।

प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार सबै घटना रातिको समयमा भएका हुनाले पहिरो कहाँबाट सुरु भयो भन्ने यकिन गर्न कठिन भएको छ। “जताततै पहिरो छ,” उनले भने।
देउमाईमा एकै नगरपालिकामा आठको मृत्यु
देउमाई नगरपालिकामा राति १ बजेदेखि ३ बजेसम्म लगातार पहिरो गइरहेको थियो। मेयर सूर्यप्रसाद पोखरेलका अनुसार वडा नम्बर ७ मा पाँच र वडा नम्बर ५ मा तीन जनाको ज्यान गएको छ। वडा नम्बर ७ मा ज्यान गुमाउनेमध्ये दुई जना पाहुना थिए, जो पाँचथरबाट आएका थिए। तीमध्ये एकजना आठ वर्षीय बालक र अर्की १२ वर्षीया बालिका थिइन्।
वडा नम्बर ३ मा एकै परिवारका दुई जनाको मृत्यु भएको मेयर पोखरेलले जानकारी दिए। “दसैँमा टीका लगाउन आएका पाहुनासहितको घर पहिरोले बगाउँदा छिमेकीकै ज्यान गयो,” उनले दुखेसो पोखे।
स्थानीय प्रतिनिधि र सुरक्षाकर्मी घटनास्थलमा पुग्न प्रयासरत भए पनि बाटो बगाएपछि उद्धारमा कठिनाइ भएको थियो।
माईजोगमाई गाउँपालिकामा दुई परिवारमा दुःखद क्षति

माईजोगमाई गाउँपालिकामा आठ जनाको ज्यान गएको छ। वडाध्यक्ष कुशबहादुर थेवेका अनुसार किरण थेवे र ब्रह्मलाल सोङ्मीका दुई परिवार पहिरोमा पुरिएर मृत्यु भएको हो। सोङ्मीका परिवारका पाँच र थेवेका तीन जना निधन भएका छन्।
अन्य पालिकामा पनि मानवीय क्षति
सन्दकपुर गाउँपालिकामा छ जनाको मृत्यु भएको पुष्टि गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले गरेका छन्। उनका अनुसार वडा नम्बर १, ३, र ४ मा दुई-दुई जनाको ज्यान गएको हो।
त्यस्तै इलाम नगरपालिकामा ६, माङसेबुङ गाउँपालिकामा ३, फाकफोकथुम गाउँपालिकामा १ र सूर्योदय नगरपालिकामा ५ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।
घाइतेको उद्धार, राजमार्ग अवरुद्ध
जिल्लाका विभिन्न पहिरो क्षेत्रबाट हालसम्म २० जना घाइतेको उद्धार गरिएको छ। धेरै स्थान विकट रहेकाले अझै प्रहरी र उद्धार टोली पुग्न नसकेको कोइरालाले बताए। माई खोलानजिकै पहिरो खस्दा मेची राजमार्गसमेत अवरुद्ध भएको छ।
उद्धार कार्य जारी

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार हालसम्म ५३५ जनाको उद्धार गरिएको छ।
स्थानीय बासिन्दाहरू अझै त्रासमा छन्। देउमाई नगरपालिकाका मेयर पोखरेल भन्छन्, “बिजुली छैन, मोबाइल नेटवर्क छैन। शव निकाल्ने काम सकियो, अब बाँचेका बासिन्दा सुरक्षित बस्न सक्ने ठाउँ बनाउँदैछौं।”
थप विवरणहरू, मृत्यु भएकाहरूको नाम, उमेर, र सम्पूर्ण क्षतिको विवरण अझै सङ्कलन भइरहेको जनाइएको छ।
१. प्रकाश तामाङको घर (इलाम नगरपालिका-६, घोस गाउँ)

- समिर देउजाली, २३
- प्रविण तामाङ, २३
- बिराज पाख्रिन तामाङ, २३
- आवास दनुवार, ३
- अनु तामाङ, ३२
- प्रिन्सिखा मगर, ८
२. छविधन राईको घर (सन्दकपुर गाउँपालिका-१, छाँगे)
- भिमबहादुर राई, ४३
- हरिमाया राई, ६६
- देवी राई, ४७
- शेखर राई, ५४
- शारादा सेडाईं, ७४
- तारादेवी राई, ४८
३. बर्मलाल सोङमीको घर (माईजोङमाई गाउँपालिका-३, प्याङ)
- बर्मलाल सोङमी, ८२
- बुद्धमाया सोङमी, ७०
- धनबल सोङमी, ४६
- सरला सोङमी, ४२
- प्रकृति सोङमी, १४
४. राजु क्षेत्रीको घर (सूर्योदय नगरपालिका-१, मानेभञ्याङ)
- मन माया क्षेत्री, ६५
- रस्मिका क्षेत्री, १०
- दिप बस्नेत, ४५
- भवानी बस्नेत, ४४
- दिव्या बस्नेत, १२
५. दिपक लिम्बुको घर (देउमाई नगरपालिका-५, ढुसेनी)
- दिपक लिम्बु, ३०
- ऋषिका लिम्बु, २७
- दिपिस्का लिम्बु, १०
- सौजन लिम्बु, ९
- सौगात लिम्बु, ११
६. मन कुमार लिम्बुको घर (देउमाई नगरपालिका-५, झारे)

- रोशन लिम्बु, २२
- बेबिसा राई, २२
७. गणेश मगरको घर (देउमाई नगरपालिका-३, लक्ष्मीबोटे)
- ३०. कृष्ण मगर, २८
८. मदन लिम्बुको घर (माङसेबुङ गाउँपालिका-१, पार्टी गाउँ)
- कृष्ण माया लिम्बु, ५७
- माया लिम्बु, ५०
- नेहा राई, १७
९. सुरेश लिम्बु (फाकफोकथुम गाउँपालिका-३, रातमाटे)
- सुरेश लिम्बु, २८
१०. भक्तबहादुर थेवेको घर (माईजोगमाई गाउँपालिका-६, ओडारे)
- किरण थेवे, २८
- मनमाया थेवे, १८
- मुनुसा थेवे, ३ https://nepalnews.com/2025/10/05/four-hour-aari-ghopte-rain-claimed-the-lives-of-37-sleeping-people/


