जनहित खबर, साउन ३०, बिहिबार २०८२
सुखड,साउन २९ गते । कैलालीको घोडाघोडी नगरपालिकामा बालबालिका सम्बन्धी पञ्चवर्षीय रणनैतिक योजना अन्तर्गत चौथो वर्षको समीक्षा गरीएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, बाल कल्याण सङ्घ टिकापुरको सहयोग तथा घोडाघोडी नगरपालिकाको आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बाल कल्याण सङ्घ टिकापुरका परियोजना अधिकृत किशन कसराले सहभागीहरूलाई चौथो वर्षमा भए गरेका कामहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले बालबालिकाको मुख्य सवालहरू,बढी जोखिममा रहेका बालबालिकाहरू, सामुदायिक कारणहरू, आर्थिक कारणहरू, कानुनी कारणहरू, नगरपालिका, वडा तथा बाल कल्याण सङ्घको समन्वयमा भएका कार्यक्रमहरू र देखिएका चुनौतीहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
पालिका भित्रमा विभिन्न कार्यक्रम भए पनि केही चुनौती भने थपिएको उनले बताए । बालविवाहका घटना भए पनि सार्वजनिक नहुनु, बालबालिकाहरूको आत्महत्याको दर बढी रहनु, वैदेशिक रोजगारी दरमा वृद्धि भई अभिभावको संरक्षणबाट बालबालिका प्रभावित हुनु, बहुविवाह र सम्बन्ध विच्छेदका घटनाहरूको दर वृद्धि हुँदा त्यसको प्रत्यक्ष असरबाट बालबालिकाहरू प्रभावित भएको उनले बताए ।
समुदाय तथा पालिका स्तरमा छाउपडी प्रथा,बालविवाह जस्ता परम्परागत हानिकारक अभ्यासका बारेमा सचेतना अभिवृद्धि भई यिनको दरमा कमी आएको बताईएको छ । घोडाघोडी नगरपालिकाको बाल अधिकार समितिको ५ वर्षे कार्य योजना अनुसार काम भइरहेको बताईएको छ ।
बालमैत्री पालिका हाम्रो चाहना,शिक्षित सभ्य,नैतिकवान् पालिका हाम्रो कामना भन्ने परिकल्पनाका साथ काम गरी रहेको पालिकाले जनाएको छ । बालबालिकाहरू प्रतिको विभेद,उन्मूलन सहित सुनिश्चित बाल अधिकार र बालमैत्री समाज निमार्ण गर्न सबै लागी परेको बताईएको छ । जुन लक्ष्य लिएर काम गरीरहेका छौँ त्यसै गरी उपलब्धि हासिल गर्न समेत नगरपालिका लागी परेको बताईएको छ ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको सभाध्यक्षमा भएको थियो । कार्यक्रममा उप प्रमुख गुलिया कुमारी चौधरी,शिक्षा शाखाका उप सचिव खगेन्द्र बहादुर सिंह,नगर प्रवक्ता,वडा अध्यक्षहरू,शाखा प्रमुखहरू, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, बाल कल्याण सङ्घ टिकापुरका कर्मचारी लगायतको सहभागी रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख इन्दु जोशीले गर्नु भएको छ ।
