मिस्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन् ।
- मिस्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन् । प्रधानमन्त्री ओली दुईदिने भ्रमणका लागि ३१ भदौमा भारत जाने तयारी छ ।
भाद्र २, २०८२ जनहित खबर

काठमाडौँ — दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति, प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एक महिनापछि हुने भारत भ्रमणको एजेन्डामा गृहकार्य गर्न उनी आइतबार काठमाडौं आएका हुन् ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा मिस्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन् । प्रधानमन्त्री ओली दुईदिने भ्रमणका लागि ३१ भदौमा भारत जाने तयारी छ । प्रधानमन्त्री भएको १३ महिनापछि उनी भारत भ्रमणमा जान लागेका हुन् । दुई देशबीच व्यापार, कनेक्टिभिटी र क्षेत्रीय विकासका साथै दुई देशबीच सीमा समस्या समाधान गर्नेलगायतका एजेन्डामा छलफलको तयारी छ ।
भारत भ्रमणका क्रममा मोदी र ओलीबीच यस पटक दिल्लीबाहिर द्विपक्षीय वार्ताको तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बोधगयामा दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ताको तयारी छ । बिहार राज्यको बोधगया सहर बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थलका रूपमा बोधगया चिनिन्छ ।
सचिव मिस्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीको आगामी भ्रमणका एजेन्डा र चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई देशबीच पछिल्लो समय कनेक्टिभिटी बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक सम्बद्धता बढ्नु खुसीको विषय हो,’ राणाको भनाइ थियो, ‘रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्ग पनि थप विस्तार गरी कनेक्टिभिटी बढाउनु राम्रो हुन्छ ।’
जेठ २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा तीन महिनाभित्र पञ्चेश्वरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने सहमति भएको थियो । तर अहिलेसम्म नेपाल र भारतबीच डीपीआरमा सहमति हुन सकेको छैन, जसका कारण पञ्चेश्वर बहुउद्देश्यीय परियोजना २९ वर्षदेखि अलपत्र छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह रावबीच २९ माघ २०५२ मा महाकाली नदीमा शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर सम्बन्धमा महाकाली सन्धि भएको थियो ।
पछिल्लो समय प्लाइउड, स्टिललगायत उत्पादन भारत निकासीमा समस्या भएकाले सहजीकरणका लागि मन्त्री राणाले आग्रह गरेकी छन् । यी एजेन्डा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा छलफलमा राख्ने तयारी छ । यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृत राई र भारतीय विदेश सचिव मिस्रीबीच पारवहन, व्यापार, विकास सहकार्यलगायत विषयमा छलफल भएको छ ।
यस्तै, सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरे । भेटमा राष्ट्रपति पौडेलले छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएका थिए । मिस्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन् । उनी सोमबार दिल्ली फर्कनेछन् ।
