धनगढी २१ मंसिर २०८२।। कैलाली जिल्लाकाे धनगढीमा २२ मंसिर २०८२ काे १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव सुरु हुँदैछ।
महोत्सव धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा आयोजना हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने तयारी छ। महोत्सवको तयारी पूर्ण भइसकेको जनाइएको छ। पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ।
तीन करोड रुपैयाँको लगानीमा आयोजना हुने महोत्सवमा करिब १५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक र होटलसम्बन्धी पाँच सय वटा स्टल रहनेछन्। कृषितर्फ ४० वटा स्टल र महिला उद्यमी, एकल महिला तथा स्थानीय परिकारका १५ वटा गरी ५५ स्टल निःशुल्क रहने व्यवस्था गरिएको छ।

महोत्सव अवधिभर करिब सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ। अवलोकनका लागि विद्यार्थी र खेलाडीले ५० रुपैयाँ, सर्वसाधारणले १०० रुपैयाँ टिकट तिर्नुपर्नेछ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

