प्रधानमन्त्री केपी शर्मा ओली आज चीन
“लिपुलेख हाम्रो हो, हाम्रो रहन्छ” – प्रधानमन्त्री ओलीको चीनमा दृढ स्वर
कैलाली १४ भाद्र २०८२ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा आयोजित शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा बोल्दा, लिपुलेख विवादलाई उच्च प्राथमिकतामा राख्दै नेपालको पक्ष दृढतापूर्वक प्रस्तुत गरेका छन्।
स्वाधीनताको आवाज

ओलीले चीनका राष्ट्रपति शी जिनपिङसँग भेटवार्तामा भने—
“सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वी भूभाग, लिम्पियाधुरा, कालापानी र लिपुलेख नेपालकै अभिन्न हिस्सा हुन्। नेपालको अनुमति बिना भारत–चीनबीच कुनै सम्झौता हुने कुरा स्वीकार्य छैन।”
उनको यो भनाइले सम्पूर्ण नेपालीको स्वाभिमानको आवाज बुलन्द गरेको छ।

राष्ट्रियताको रक्षामा
संसदमा प्रधानमन्त्रीमाथि यस विषयलाई चीनमा उठाउनुपर्ने दबाब थियो। विपक्ष मात्र होइन, जनस्तरमै पनि “लिपुलेख हाम्रो हो” भन्ने नाराले स्वर गुन्जिएको थियो। यसै पृष्ठभूमिमा ओलीले चीनमा नेपालको भू–अधिकारको कुरा दृढतापूर्वक राख्नु देश र जनताको भावना अनुरूप भएको देखिन्छ।
कूटनीतिक चुनौती
नेपाल सरकार यसअघि नै भारत र चीन दुवै मुलुकलाई कूटनीतिक नोट पठाइसकेको छ। तर अब प्रधानमन्त्री ओलीको चीन यात्रा उनको सबैभन्दा ठूलो कूटनीतिक परीक्षा साबित भएको छ। राष्ट्रको सान, भूमि र पहिचान जोगाउने जिम्मेवारी उनीमाथि छ, र उनले चीनमा आफ्नो वचनमार्फत त्यो जिम्मेवारी पूरा गर्ने प्रयास गरेका छन्।
नेपाली जनताको भावना
लिपुलेख, लिम्पियाधुरा र कालापानी केवल नक्सामा देखिने भूभाग मात्र होइनन्, ती नेपालकै माटो हुन्। त्यहाँको पिँढी–पिँढीले नेपालको सास फेरेका छन्। प्रधानमन्त्री ओलीको आवाजले यही भावना अन्तर्राष्ट्रिय मञ्चमा सुनाएको छ।
✍ रविन्द्र राज गौतम
